अमेरिकामा भव्य रूपमा सम्पन्न “साकेला उभौली–२०२६” सांस्कृतिक उत्सव
न्युयोर्क, अमेरिका — किरात राई सोसाइटी अफ अमेरिका (KRSA) न्युयोर्क च्याप्टरले “साकेला उभौली–२०२६” सांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार, मे १६, २०२६ मा आयोजित उक्त कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म क्विन्सस्थित फ्रेश मेडोज कोरोना पार्कमा सम्पन्न भएको हो।
च्याप्टर अध्यक्ष शम्भु राईको अध्यक्षता र सचिव बलराम राईले सन्चालन रहेको कार्यक्रममा स्थानीय नेपाली समुदाय, पत्रकार तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आपसी सद्भाव, सांस्कृतिक पहिचान तथा परम्परागत मूल्यहरूको संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सम्योजन गरेकि च्याप्टर उपाध्यक्ष खुशि राईले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य राखेकि थिए ।
साकेला उभौली किरात राई समुदायको महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक पर्व हो। परम्परागत रूपमा यो पर्व खेतीपाती सुरु हुने मौसमको स्वागत गर्दै प्रकृतिसँग समृद्ध बालीको कामना गर्न मनाइन्छ। कार्यक्रममा समुदायका अग्रज तथा पूजारीहरूले धार्मिक विधि सम्पन्न गरेका थिए भने त्यसपछि परम्परागत साकेला नृत्य प्रस्तुत गरिएको थियो।
विशेष आकर्षणका रूपमा सहभागीहरूले “सिली” नृत्य प्रस्तुत गरेका थिए, जसमा प्रकृति, चराचुरुङ्गी, जनावर तथा कृषि जीवनका गतिविधिहरूलाई लयात्मक शैलीमा झल्काइएको थियो। उत्साहपूर्ण सांस्कृतिक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई विशेष रूपमा आकर्षित गरेको थियो।
यसै क्रममा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपाली समुदायको गौरव बढाएका गोल्ड मेडलिस्ट सन्तोष राईलाई विशेष सम्मान गरिएको छ ।
Santosh Rai Receiving Yalambar Award
कराते खेल क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका राईले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत तथा कास्य पदक जित्न सफल भएका छन्। उनले हालै सम्पन्न Hiraldo’s Kai Shubukan Shotokan International Karate Championship 2026 मा काता विधामा गोल्ड मेडल जितेर फेरि एकपटक नेपाली समुदायलाई गौरवान्वित बनाएका छन ।
त्यसैगरी, उनले USA Open Karate Championship मा ब्रोन्ज मेडल, 9th International Game मा गोल्ड मेडल तथा EKE-E1 Series UK 2023 मा सिल्भर मेडल समेत जितेका थिए ।लगातार अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्दै आएका राई नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन ।
न्यूयोर्कस्थित नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले राईको उपलब्धिको प्रशंसा गर्दै सम्मान व्यक्त गरेका छन्। विशेषगरी नेपाली समाज, कराते खेलप्रेमी तथा सामाजिक अभियन्ताहरूले उनको मेहनत, अनुशासन र समर्पणको खुलेर सराहना गरेका छन ।
यस सफल आयोजनामार्फत KRSA न्युयोर्क च्याप्टरले अमेरिकामा रहेका नेपाली आदिवासी किरात संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो अभियानलाई निरन्तरता दिएको छ। कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तालाई आफ्ना सांस्कृतिक परम्परा हस्तान्तरण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्। न्युयोर्कको लागि महाबाणिज्य दुत श्री दधिराम भण्डारि को प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा केआरएसए केन्दृय अध्यक्ष भारति राई र नेपाल आदिबासि जनजाति महासङ्घ अ्मेरिकाको अध्यक्ष एपि लामा शेर्पा बिशेस अतिथि को रुपमा आशन ग्रहण गरेका थिए।
कार्यक्रम सामुदायिक एकता, पहिचान र सांस्कृतिक गौरवको सशक्त प्रदर्शनका रूपमा सम्पन्न भएको थियो।
![]() |
| Team of Kirat Rai Society of America, New York Chapter |


No comments