नेपालमा साइकको ईतिहास
यहाँ केही उल्लेख साइकल चलाउने बिशिष्ट ब्यक्तित्वहरुको पनि गर्न चाहन्छु । राणा शासनको समय साइकल भित्रिए पनि राणा श्री ३ वा सो भन्दा तलका कमाण्डिङ जनरल, जर्नेल, कर्णेलहरुले साइकल चलाएर हिडेको कुनै ऐतिहासिक जानकारी सो समयका कसैबाट पनि प्राप्त भएको छैन । तर देशमा प्रजातन्त्र आउनु अगाडि तथा प्रजातन्त्र आए पछि भने सर्वसाधारण तथा राणा विरोधी आन्दोलनमा लागेका केहीले साइकलमा बिभिन्न स्थान पुग्ने गरेको जानकारी भने पाउन सकिन्छ ।
राणा शासनकालमा स्वतन्त्र रुपले दरवार बाहिर घुम्न नपाएका राजा त्रिभुवन भने देशमा प्रजातन्त्र आगमन पछि साइकलमा दरवार बाहिर निस्कने गरेको भनाइ बिभिन्न ब्यक्तिले देखेको विवरणहरु वा लेखहरु भेटिन्छ । राजा स्वयंले साइकल चढेर घुम्न निस्कदा राजाका अंगरक्षकहरुलाई निकै समस्या पर्दथ्यो । दुइ अंगरक्षक पनि साधारण हतियारको साथ साइकलमा नै पछि पछि लाग्दथे । साथमा राखिएको तस्विर राजा त्रिभुवनले चलाएर हिड्ने बेलायती रेलै साइकलको हो । यस साइकलको सिरियल नंवरको आधारमा हेर्दा यो साइकल २००७ साल पछि बनेको हो ।
प्रजातन्त्र आए पछिका अर्का प्रमुख साइकल चालक थिए विपी कोइराला । विपी कोइराला पनि प्राय साइकलमा नै कुद्थे । साथमा नेतागणहरु गणेशमानसिंह, टंकप्रसाद आचार्य तथा कृष्णप्रसाद भट्टराई पनि साइकलमा नै भेटिन्थे । नेपालका निकै चर्चित कवि अर्थात महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि साइकलमा नै हुन्थे । उनको साइकल चलाउने क्रम भने राजा महेन्द्रको समय केआइ सिंह मन्त्रीमण्डलमा शिक्षा मन्त्री बनेको समयमा पनि रहेको चर्चा निकै सुनिन्छ । मन्त्री बने पनि डिल्लीबजारको उनको घरसम्म सरकारी गाडी पुग्न कठिन भएको हुँदा घरबाट गाडी पुग्ने ठाउँसम्म साइकलमा नै निस्कने गर्दथे । साथै मन्त्रालयबाट फर्कदा पनि गाडीबाट झरेपछि साइकलमा नै घरसम्म खेतको आलीआली साइकल कुदाउँदथे ।
साथमा राखिएको तस्विरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको साथमा नारायणप्रसाद बाँस्कोटा तथा हरिहरनाथ रेग्मीलाई देख्न सकिन्छ । शुरुमा पत्रपत्रिकाका सम्पादक रहेका नारायणप्रसाद बाँस्कोटा पछि प्रचार विभागका निर्देशक समेत बनेका थिए । हरिहरनाथ रेग्मी भने कुनै बेला जुद्धोदय स्कूलका अंग्रेजीका माडसाप थिए । यस तस्विरमा नारायणप्रसाद बाँस्कोटा तथा देवकोटा दुबै साइकलमा हुनुहुन्छ ।
साइकलको कथामा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि बेलायती साइकल रेलै साइकल नै चढ्दथे । साधारण रुपमा कतै हिडेर जानुपर्दा सुस्त र गम्भिर रुपमा हिड्ने देवकोटा साइलकमा भने सधै कुदाउन मन पराउँथे । बि.सं. १९९१ मा आमाको देहान्त हुँदा भने एक महिना कडा आशौच बार्दै साइकल पनि चढेनन् । सधै साइकलमा कुद्नुपर्ने देवकोटाको साइकल हराएछ । चिन्तित देवकोटाको लागि साइकलमा महत्व अति नै थियो । तसर्थ चारदिन नहुदै नयाँ साइकल किनेर फेरी कुदाउन थालेछ । यस्तो थियो देवकोटाको साइकल मोह ।
गणेशमान सिंह अर्थात हीराकाजीको साइकलको पनि रमाइलो कथा छ । ९० सालको भूकम्प भन्दा अगाडि १७ वर्षे अल्लारे उमेरमा गणेशमान सिंह रुद्रशम्शेरको दरवारमा रहेको मुलुकी अड्डामा बहिदार थिए । त्यो बेला राणाशासनको समय साइकलमा बत्ती र घन्टी हुनैपर्दथ्यो । तर गणेशमान भने बत्ती र घन्टी नभएको साइकल हुइकाउदै मुलुकी अड्डा पुगेछन् । ढोका बाहिर उभिएका आठपहरिया(सैनिक)ले रोकेछन् र "सुकुलगुण्डा न्यार" भनेछन् । गणेशमान पनि के कम आठपहरियालाई मुक्काइदिएछन् । आठपहरियाको गुनासो रुद्रशम्शेर सम्म पुगेछ । रुद्रशम्शेरले समातिएको साइकल त गणेशमानलाई फिर्ता गराइदिए तर सजाय बापत आठपहरियाकै हातबाट चारपटक कान समाएर उठबस गर्ने सजाय दिएछन् । रिसाहा गणेशमानले तत्कालै जागीर छोडेर कलकत्ता लागे र राणा विरोधी आन्दोलनमा होमिएछन् ।
यसरी नै मलाई आमाले सुनाउनु भएको मेरो बुबाको साइकलको कथा याद आउँछ । बि.सं. २००२ सालतिर बुबाले पनि साइकल किन्नुभएको रहेछ । त्यतिबेला साइकल कुदाउनेहरुको शान नै अलग्गै हुने गर्दथ्यो । बुबा पनि साइकल किनेपछि आफूलाई बिशेष नै मान्न थाल्नु भएछ । त्यसपछि भक्तपुर मूलढोकामा रहेको घरबाट पाटन सुन्धारामा रहेको ससुराली झण्डै १० किमी टाढा साइकलमा जानु हुँदोरहेछ । ससुराली नजिक पुगेपछि साइकलमा करतवहरु देखाउन थाल्नुहुदोरहेछ । कहिले बेस्सरी कुदाउने कहिले दायाँ बायाँ गर्दै कुदाउने । यस्तैमा एकदिन नराम्रोसंग साइकलबाट लड्नुभएछ । साइकलबाट लड्नुको चोट भन्दा बढी लज्जाबोध भएछ बुबालाई । त्यसपछि भने ससुरालीमा साइकलमा जान नै छोड्नु भएछ ।
यसरी देशमा प्रजातन्त्र आगमनको केही समय अगाडि देखि प्रजातन्त्र आएको केही समयसम्म साइकल निकै लोकप्रिय रहेको थियो । राजनेता वा साहित्यकार वा सर्वसाधारण सबैमा साइकलको महत्व धेरै नै हुने गर्दथ्यो ।
राजा त्रिभुवनको साइकलको तस्विर हनुमानढोका संग्रहालयका प्रमुख सन्दीप खनालबाट प्राप्त भएको हो भने लक्ष्मीप्रसाद देवकोटाको तस्विर मदनपुरस्कार पुस्तकालयको संग्रहबाट लिइएको हो ।
साभार : सुनिल उलकको फेसबुक बाट
No comments