मानबहादुरको कफी मन !
मिलन के राउत, उर्लाबारी
कफी भन्नेवित्तिक्कै शहरिया र धनाढ्य जीवनशैलीको एउटा हिस्सा । सर्वसाधारण नेपालीले चिया चिनेका थिए, कफी टाढाको कुरा थियो । उर्लाबारी १ लक्ष्मीझारका मानबहादुर श्रेष्ठलाई कफीको कैरन थाहा हुने कुरै थिएन । सन् ९० को दशकमा अमेरिका जाने सपना साँचेर काठमाडौं हानिएका मानबहादुर दलालको ‘घनचक्कर’मा फसेका थिए । न विदेश उड्न सके, न स्वदेशमै गरिखाने लय समात्न सके । काठमाडौंमा सकसपुर्ण दिनहरु बितिरहेकै बेला उबेलाका सिनेमाका चर्चित नायक शिव श्रेष्ठसंगको भेटले उनले ‘यूटर्न’ मारे । आफन्तजन भित्रै पर्थे नायक श्रेष्ठ । अमेरिका बसे पनि केही हुँदैन । तर, भिजन क्लियर छ भने नेपालको जुनसुकै कुनामा बसेर पनि सुन फलाउन सकिन्छ । यहाँका कुना कन्दरामा अवसरहरू लुकेका छन्, तिनलाई खन्ने प्रयास गरौँ । नायक शिव श्रेष्ठसंगको सामिप्यले सायद यस्तैयस्तै तत्वज्ञान मिलेछ मानबहादुरलाई । अभिनेता शिव श्रेष्ठकै जोडबलमा उनी हिमालय जाभामा जोडिए । हिमालयन जाभा नेपालमा कफीको ‘बादशाह’का रुपमा चिनिन्छ । आज ७५ बढी आउटलेटसम्म फैलिएको छ । हिमालय जाभाको उन्नयनमा मानबहादुरको पनि थोरबहुत योगदान जोडिएको छ । उनी सुरुवाती दिनका कर्मचारी थिए । २१ औं शताब्दी लागेसंगै काठमाडौंमा कफी संस्कृतिले हिमालयन जाभालाई नयाँ उचाइ दियो । कर्मचारी, म्यानेजर हुँदै प्रशिक्षकसम्मको भुमिकामा रहेर मानबहादुरले आफुलाई सावित गर्दै गए । नेपालमा झाँगिदै गएको ‘कफी कल्चर’ले विदेशिने सपनाहरुको च्याप्टर क्लोज भएको मानबहादुर सुनाउछन् । ‘कफी कल्चरले स्वदेशमै कमाइको अवसर सिर्जना गरेपछि अन्यत्र ध्यान गएन’ उनी भन्छन् ।
हिमालय जाभा उनको स्वामित्वमा थिएन । मानबहादुर कर्मचारीको भुमिकामा मात्रै सीमित हुन चाहेनन् । उनलाई आफ्नै केही गर्न मन लाग्यो । हिमालयन जाभामा कफी व्यवसाय र विस्तारको अनुभव समेटेकै थिए । बजार अनुसन्धान गर्दा उनले देखे– नेपालमा कफी संस्कृति शून्य थियो । मानिसहरू कि त चिया पिउँथे कि तातोपानीमा इन्स्ट्यान्ट कफी घोलेर । ‘हिमालयन जाभामै रहँदा कैयौँ नयाँ आइडिया जन्मिए’ उनी भन्छन्, – कफीलाई शहरकेन्द्रित होइन, दुरदराजसम्म ब्रान्डिङ गर्न आफै अग्रसर किन नहुने रु आज मानबहादुर कफी मात्र बेच्दैनन्, नेपाली माटोमा फलेको कफीलाई ब्रान्डिङ गर्छन् र सयौँ युवालाई ‘बारिस्टा’ तालिम दिएर आत्मनिर्भर बनाउँछन् । मानबहादुरले नेपालकै पहिलो बारिष्टा प्रशिक्षकका रुपमा आफुलाई दर्ज गरिसकेका छन् ।
हिजो विदेश जाने सपना साँचेका मानबहादुरलाइृ आज विदेश चाहार्नु सामान्य बनेको छ । प्रशिक्षकका रुपमा आधा दर्जन देश पुगिसके । क्याफे कल्डी नामक जापनिज कम्पनीको प्रोजेक्ट म्यानेजरको रुपमा सन् २००८ मा अनुबन्ध भएर तीन वर्ष कार्यसम्पादन पनि गरे । कफीप्रतिको लगाव यतिमै सीमित रहेन । आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीर्टी० मा कफी सम्बन्धि जुन् पाठयक्रम तयार भएको छ, त्यो उनै मानबहादुरहरुकै जोडबलमा आएको हो ।
उनी भन्छन् – ‘हिमालयन जाभासहित विभिन्न कफी उत्प्रेरकहरु मिलेर हामीले सीटिइभीटीमा कफीको पाठ्यक्रम लागु गराएका हौ ।’ २०७९ भदौमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको पाठ्यक्रम विकास सम्बन्धमा बारिष्टा तथा कफी रोस्टरहरुको सीप विकास तथा क्षमता अभिवृद्धि गर्न उनलाई मान्यता दिएको थियो ।
अचेल जहीँतहीँ क्याफेहरू खुलेका छन् । कयौँ खुल्ने क्रममा रहेको पनि देखिन्छ। सडकका छेउछाउ, चोक र गल्लीहरूमा क्याफेको उपस्थिति बाक्लिन थालेको छ। स्तरीय क्याफेमा मात्र होइन, सामान्य चिया पसलसम्म पनि कफी पाइन्छ । यस्तो परिदृश्यले मानबहादुर उत्साहित हुन्छन् । भलै उनकै मात्र देन नभएपनि सपनाहरु सार्थक बनेकोमा खुसी छन् ।
एस्प्रेसो अर्गानिक कफी हाउस एण्ड ट्रेनिङका संचालक मानबहादुरले विभिन्न ठाउँमा कफी सपका अलवा बारिष्टा स्कुल संचालनमा ल्याएका छन् । काठमाडौको थापा गाँउ, पुर्वको इटहरी र उर्लाबारीमा एस्प्रेसो अर्गानिक कफीका आउटलेटहरु संचालनमा छन् । विर्तामोड र पोखरामा पनि संचालनमा ल्याउने काम भइरहेको उनले बताए । अर्गानिक र गुणस्तरीय कफी उत्पादन गर्दै विदेश निर्यात गर्न सके कफी ब्यवसायले नेपालको समृद्धीमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । अहिले उनी कफीका दक्ष जनशक्ति तयार पार्न मिहिनेत गरिरहेका छन् । उर्लाबारी ५ मधुमल्ला रोडमा शाखा संचालन गरी एस्प्रेसो अर्गानिक कफी हाउस एण्ड ट्रेनिङमा युवाहरुलाई सीप सिकाएर व्यावसायिक बनाउन तालिमको प्रबन्ध गरिएको छ । कफी विकास र प्रवद्र्धनका क्षेत्रमा विचलित नभइ अघि बढ्ने उनको प्रण छ ।
No comments