जर्जियामा गोलीकाण्ड: नेपाली मूलका प्रहरी अधिकारी प्रदीप तामाङको कर्तव्यपालनका क्रममा निधन
अमेरिकाको जर्जिया राज्यस्थित ग्विनेट काउन्टीमा आइतबार बिहान भएको गोलीकाण्डमा नेपाली मूलका प्रहरी अधिकारी प्रदीप तामाङको कर्तव्य पालनका क्रममा मृत्यु भएको छ। उक्त घटनामा अर्का एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन्।
ग्विनेट काउन्टी प्रहरी विभागका अनुसार आइतबार बिहान करिब ७:३० बजे ‘इस्ट पार्क प्लेस बुलेभार्ड’ क्षेत्रमा ठगी (Fraud) सम्बन्धी उजुरीको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो। सोही क्रममा ३५ वर्षीय संदिग्ध केभिन एण्ड्र्यूजले प्रहरीमाथि गोली प्रहार गरेका थिए।
संदिग्धको गोली लागेर २७ वर्षीय प्रहरी अधिकारी प्रदीप तामाङ र मास्टर पुलिस अफिसर डेभिड एम. रिड घाइते भएका थिए। जवाफी कारबाहीमा प्रहरीले चलाएको गोली लागेर संदिग्ध एण्ड्र्यूज पनि घाइते भएका छन्। सबै घाइतेलाई तत्काल अस्पताल पुर्याइए पनि अधिकारी तामाङलाई चिकित्सकहरूले बचाउन सकेनन्।
मृतक तामाङ सन् २०२४ जुलाईमा ग्विनेट काउन्टी प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले सन् २०२५ मे महिनामा १२१औँ प्रहरी एकेडेमीबाट स्नातक पूरा गरी फिल्डमा काम सुरु गरेका थिए। सेवामा प्रवेश गरेको छोटो समयमै ज्यान गुमाउनु परेको घटनाले प्रहरी विभाग तथा समुदाय शोकमा डुबेको छ।
घाइते अधिकारी डेभिड एम. रिड सन् २०१५ देखि विभागमा कार्यरत थिए। उनको अवस्था हाल स्थिर रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
आक्रमणकारी केभिन एण्ड्र्यूज हाल प्रहरी निगरानीमा अस्पतालमा उपचाररत छन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्विनेट काउन्टी जेल चलान गरिने र हत्या प्रयाससहित विभिन्न आपराधिक मुद्दा दर्ता गरिने प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत अनुसन्धान ‘जर्जिया ब्युरो अफ इन्भेस्टिगेशन (GBI)’ ले गरिरहेको छ।
यस घटनाप्रति ग्विनेट काउन्टी प्रहरी विभागले गहिरो दुःख व्यक्त गर्दै अधिकारी तामाङलाई कर्तव्यपालनका क्रममा ज्यान गुमाउने वीर प्रहरीका रूपमा सम्मान गरेको छ।

No comments